बुधबार, कार्तिक १०, २०७८

ट्रेन्डीङ्ग

जसको गीतले वामपन्थी चेतना बढायो, एमालेको भोट बढायो

अबिच्युरीकुरा २०२८ सालतिरको हो। पञ्चायती व्यवस्थाका कारण ‘भूमिगत’ जेबी टुहुरे एक दिन धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस पुगेका थिए।छोटो सांस्कृतिक कार्यक्रममा उनले त्यहाँ गीत गाए-

बसाइँ हिँडेको ताँतीलेबस्नेको मन रुवाउँदछलाखौंको लागि उजाड छ यो देशमुठ्ठी भरलाई त स्वर्ग छ!पञ्चायतकालको दबदबा रहेका बेला तत्कालीन शासकहरूलाई झुक्याउँदै उनीहरूकै विरूद्धमा गीत गाउनु सजिलो थिएन। तर टुहुरेले पञ्चायती शासकबाट छलिँदै गीत गाए। गीतका रचनाकार लव प्रधान थिए। संगीत र स्वर टुहुरेकै थियो।

त्यसबेला यो गीत रेकर्ड थिएन। टुहुरे माइकमा गाउँथे, साधारण वाद्यवादनको साथमा।भोजपुरका श्याम तमोटले टुहुरेलाई त्यही सांस्कृतिक कार्यक्रममा पहिलोपटक देखेका थिए। प्रविणता प्रमाण पत्र तह पढ्न धरान झरेका बेला तमोटले टुहुरेलाई विद्यार्थीमाझ सांस्कृतिक कार्यक्रम ल्याउँदा हल्का चिनेका रहेछन्।

पछि २०३५/३६ सालमा बिए पढ्न काठमाडौं जाँदा टुहुरेसँग त्यहीँ भेट भएको तमोट सम्झन्छन्।’भोजपुरमा आइकम पढ्ने ठाउँ थिएन। धरानमा पढ्दा उहाँहरू लुकिछिपी क्याम्पसहरूमा सांस्कृतिक कार्यक्रम गर्दै हिँड्नुहुँदो रहेछ भन्ने थाहा पाएँ,’ टुहुरेको निधनपछि सेतोपाटीसँगको कुराकानीमा तमोटले भने, ‘मैले भेटेको बेला नै उहाँले जनताको पिरमर्का उजागर गर्ने गीत गाउनुभएको थियो। पछि पनि उहाँहरू दिदीबहिनी र आमाहरूका बेदना समेटिएका गीत गाउनुभयो।’

तमोट ३० को दशकदेखि नै गीत लेख्थे। भेटघाट र निकटता बढेपछि उनले टुहुरेलाई गीत गाउन प्रस्ताव गरे। सहजिला टुहुरेले तमोटको अनुरोधमा दुइटा गीत गाए- ‘साना साना ढुंगा माटो’ बोलको बाल गीत र ‘सबै मलाई चोर भन्छन्’।

काठमाडौंमा भेट हुँदा पनि टुहुरे ‘भूमिगत’ नै थिए। उनीसँग रामेश श्रेष्ठ, मञ्जुल नेपाल लगायतको टिम थियो।

तमोटले यहीँनेर आफूले रचेको गीत सुनाएका थिए- गाउँ-गाउँबाट उठ बस्ती-बस्तीबाट उठ।

यो गीतलाई रामेश, मञ्जुलहरूको सामूहिक स्वरमा त्यसबेला भूमिगत रूपमै रेकर्डिङ गरियो। यो गीत लिएर तत्कालीन कम्युनिस्ट पार्टीले पञ्चायतविरूद्ध गाउँ-गाउँमा आन्दोलन छेड्यो। कार्यक्रममा जाँदा टुहुरे पनि यो गीत गाउँथे। यो गीत अहिले पनि कम्युनिस्ट पार्टीका कार्यक्रममा बजाइन्छ। अहिले आएर ‘मोडिफाइ’ गरेर जसले गाए पनि यो गीतका सर्जक उनीहरू नै थिए।

टुहुरेलाई चिनाउने र स्थापित गर्ने गीत भने ‘आमा दिदीबहिनी हो कति बस्छौ दाषी भई’ हो।

वामपन्थी राजनीतिमा टुहुरे २०२३ सालदेखि आकर्षित भएका थिए। २०२५ सालताका पूर्वकोसी प्रान्तीय कमिटी (मनमोहन) को सदस्य थिए। २०२८/३० सालतिर झापा किसान विद्रोह भएपछि उनीहरूको त्यो कमिटीमा निरासा छाएको थियो।

त्यही दौरान झापा विद्रोहको नाममा ‘सामन्तीहरूको टाउको काट्न’ थालिएपछि व्यापक धरपकड भयो। उनीहरू मुद्दा-मामिलाका कारण खेदिएका थिए।

त्यसको केही समयपछि पुष्पलाल श्रेष्ठ समूहबाट मदन भण्डारी, जीवराज आश्रितलगायत नेता बनारसबाट मुक्ति मोर्चा बोकेर आए। उनीहरू सम्पर्कमा आएपछि टुहुरे नजिकिए। मोर्चाका साथीमार्फत् उनले ‘चरी भरर’ शीर्षकको कविता संग्रह प्राप्त गरेका थिए।

त्यो पुस्तकमा धेरै जनाका कविता थिए। त्यसमध्ये उनलाई एकदेव ज्ञवालीले लेखेको ‘आमा दिदीबहिनी हो’ शीर्षकको कविता खुब मन पर्‍यो। त्यो कविता गुनगुनाउन थाले। विस्तारै लय आउन थाल्यो। त्यसले थाहै नपाई गीतको आकार लियो।

तर, त्यसबेला गीतमा अहिले भएका कतिपय शब्द थिएनन्। कविता मन परे पनि केही शब्दले महिलालाई होच्याएजस्तो लागेर हटाउने निर्णयमा पुगे।

एकदिन धरानका कवि देवान राईलाई टुहुरेले ‘यो गीतमा शब्दको कमी छ पूरा गर्नुपर्‍यो, यसो हेर्नुस् त’ भनेर देखाए।

राई एकछिन घोरिए। त्यसपछि केही कोरेर ‘ल यो गुनगुनाउनुस्’ भने।

टुहुरेले राईले लेखेको हेरे, उनलाई मनपर्‍यो।

आफ्नै पौरख खान्छन्

आफ्नै सीपमा बाँच्छन्

दुःखकष्ट सहेर

सृष्टि यिनले थाम्छन्

असल महान व्यक्तिहरू यिनैले जन्माउँछन्

ज्ञान गुन बुद्धिहरू यिनैले सिकाउँछन्

तर पनि अधेँरोमा जीवन बिताउँछन्

आमा, दिदीबहिनी हो कति बस्छौं दाषी भई …।

यसपछि गीत सशक्त भयो। २०३३ सालदेखि गुनगुनाउन थाले पनि २०३६ सालसम्म परिमार्जनको क्रम चलेर यसको टुंगो लाग्यो।

गीत जनप्रिय भयो, टुहुरे जनगायक भनेर चिनिए।

यो गीत कार्यक्रमहरूमा साउन्ड सिस्टमबाट जनताबीच पुगेको थियो। कतिले त पैसा जुटाएर कोठाभित्र लुकेर समेत गीत सुनेको छु भन्थे। बहुदल आएपछि, २०४६ सालमा यो गीत औपचारिक रूपमा रेकर्ड भयो।

पार्टीको राष्ट्रिय जनसांस्कृतिक मञ्च भन्ने संस्था थियो। टुहुरे त्यो संस्थाको सदस्य, उपाध्यक्ष, अध्यक्षसम्म भए। त्यहीबेला उनले मेची–काली सांस्कृतिक जागरण टोली लिएर हिँडे। १५-१६ जनाको समूह थियो। धेरै कार्यक्रम गर्थे। संगीतसँगै संगठन विस्तारको काम गर्थे।

त्यहीबेला यो गीत म्युजिक नेपालमा रेकर्ड गरिएको थियो। गाउँदा-गाउँदा अभ्यास भएकाले यो गीत एकै पटकमा बनेको थियो। सात-आठ जनाको समूह थियो बजाउने- गितार, मेण्डोलिन, हार्मोनियम, सारंगी, मादल।

भन्नेहरूले यसलाई क्रान्तिकारी गीत भने, सत्ताविरोधी गीत पनि सोचे।

टुहुरे भने यसलाई सन्देश र चेतनामूलक गीत भन्थे। उनले सेतोपाटीसँग भनेका थिए, ‘सामन्त शब्द प्रयोग हुँदैमा गीत क्रान्तिकारी हुन्छ र?’

उनी हरेक कार्यक्रममा यो गीत गाउँथे। नगाए अरूले गाउन लगाउँथे। भारतको राँची, सिक्किम, दार्जिलिङ, द कोरिया, हङकङ, पाकिस्तान लगायत नेपाली श्रोता भएका धेरै ठाउँमा उनको स्वरमा यो गीत गुञ्जियो।

२०५० सालमा दासढुंगा घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएपछि उनले अर्को गीत गाए। कवि अनिल पौडेलले रचना गरेको गीत- मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रहेछ, देशभक्त मानिस मर्दा देशै रुँदो रहेछ।

टुहुरे २००१ साल कात्तिक १५ गते धरानमा जन्मिएका थिए।

पिता कृष्णबहादुर खड्गी, माता दानदेवी खड्गीका जेठा छोरा उनको वास्तविक नाम जुठबहादुर खड्गी हो।

२०२१ सालमा उनका पिताको निधन भएपछि उनले आफ्नो नामको पछाडि टुहुरे जोड्न थालेका हुन्।

धरानमा जन्मेका टुहुरे मधुमल्ला, मोरङमा हुर्के। त्यहीँको भगवती प्राथमिक विद्यालयमा पढे। सानैदेखि नाच्न-गाउन रमाउने उनको रूचि र प्रतिभा देखेर स्कुल सञ्चालक समितिले देउसी खेल्दा सँगै लैजान्थ्यो। उनी पनि हौसिएर जान्थे। यसरी नौ-दस वर्षको उमेरदेखि नै कला-संगीतसँग जोडिए।

पछि २०१९ सालमा गीत गाउनै भनेर उनी घरबाट भागेर काठमाडौं आए। त्यही साल फागुन ७ गते रेडियो नेपालमा आफ्नै शब्द र संगीतको पहिलो गीत गाए- आज मेरो जीवनले नौलो रित सम्झिन्छ।

गीत-संगीतसँगै कम्युनिस्ट पार्टी एकताका लागि उनले २०३१ सालमा गठित कोअर्डिनेसन केन्द्रसँग मिलेर काम पनि गरेका थिए। कम्युनिस्ट पार्टीको संगठन निर्माण तथा विस्तारका लागि उनी नेताहरूसँगै हुन्थे।

टुहुरेको सांगीतिक यात्रा प्रजातन्त्र बहालीपछि पनि जारी रह्यो। नेकपा एमालेको जनसांस्कृतिक मञ्चमै रहेर उनले गाइरहे। राजनीतिक झुकाव भएकाले उनी व्यवसायिक गायक भने भएनन्। हरेक कार्यक्रममा प्रगतिशील गीत गाए, यसमै रमाए।

पार्टीका चुनावमा सांस्कृतिक कार्यक्रमको जिम्मा उनैलाई दिइन्थ्यो। उनको स्वरमा गीत सुनाएर एमालेले भोट बटुल्थ्यो, चुनावी माहौल बनाउँथ्यो। वास्तवमा त्यो गीतले टुहुरेको व्यक्तिगत जीवनमा जति योगदान गर्‍यो, त्योभन्दा धेरै लाभ भने एमालेलाई भएको थियो। एमालेको संगठन विस्तार गर्ने र भोट माग्ने माध्यम नै त्यो गीत बनेको थियो।

समकक्षी गायक रामेश श्रेष्ठको नजरमा टुहुरे इमानदार र सरल तथा छलकपट गर्न नजान्ने व्यक्ति थिए। उनले देश र जनताको जीवन र सुपरिवर्तनका लागि गीत गाएको श्रेष्ठ बताउँछन्।

तर जुन समाजवादी राज्य व्यवस्थाका लागि गीत गाएको हो, त्यो लक्ष्य पूरा नभएको भन्दै गुनासो गर्थे रे टुहुरे।

‘तपाईं हामीले जुन दु:ख गरेर, विचार र सिद्धान्त लिएर समाजवादी राज्य व्यवस्था ल्याउन गीत संगीतको माध्यमद्वारा क्रान्ति गर्‍यौं, त्यो भएन। खानलाउन त व्यवस्था गरियो, तर हाम्रो उद्देश्य यति मात्र थिएन भन्नुहुन्थ्यो,’ श्रेष्ठले सेतोपाटीसँग भने।

श्रेष्ठका अनुसार पञ्चायतकाल कम्युनिस्ट लोकप्रिय थिएनन्।

‘पञ्चायती व्यवस्था र कांग्रेसले कम्युनिस्टहरू नराम्रा, बेइमान समाजभँडुवा भन्थे। त्यस्तो बेला हामीले गीत गाएर, आदर्श, विचार पस्किएर मुलुक र जनताको उन्नति र प्रगतिको बाटो देखाउने क्रममा जेबीसँग पनि भेट भएको थियो। राम्रो देश बनाउने, सम्मुनत जीवन, सभ्य संस्कार, परम्पराले र विचारधाराले हामी कम्युनिस्ट आन्दोलनमा लागेका थियौं,’ श्रेष्ठले भने, ‘तर त्यो उद्देश्य प्राप्त नहुने देखेपछि मैले २०३९ सालमै कम्युनिस्ट पार्टी छाडेँ। उहाँ भने लागिरहनुभयो।’

टुहुरेलाई चिन्ने एमाले नेताहरूका अनुसार उनले पार्टीलाई गीत-संगीतको माध्यमबाट धेरै सहयोग गरे पनि एमालेले उनलाई जनसांस्कृतिक मञ्चमै सीमित राख्यो। समकक्षीहरू सांसद-मन्त्री भए पनि उनी साधारण गायक मात्र रहिरहे।

‘कम्युनिस्ट पार्टीसँग आस्था राख्ने समर्थकका घर-परिवारमा उहाँप्रति सम्मान र आदर्श छ,’ एमालेका पुराना नेता राधाकृष्ण मैनाली भन्छन्, ‘उहाँको प्रभाव एमालेमा गहकिलो छ। पार्टीले उहाँलाई कुन मञ्चमा कसरी सम्मान गर्‍यो, गरेन, त्यो अलग्गै कुरा हो।’

उनले पार्टीमा लागेर न पद पाए, न आफ्नो साधना बेचेर पैसा कमाउन सके। पार्टीले कहिल्यै अवसर नदिएको भन्दै जीवनको उत्तरार्द्धमा उनले एमालेसँग विद्रोह गरे। २०६६ सालमा माओवादी प्रवेश गरेका उनी २०७० सालको दोस्रो संविधानसभा चुनावमा समानुपातिक सांसद भएका थिए।

संविधानसभाको दोस्रो कार्यकाल पूरा भएयता भने टुहुरे गुमनाम थिए।

७८ वर्षीय उनी ब्रेन-स्ट्रोक भएर साताअघि बल्खुस्थित बयोधा हस्पिटल पुगेका थिए। मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका बिरामी थिए उनी। उपचारकै क्रममा बिहीबार दिउँसो उनको निधन भयो।

पछिल्लो समय उनी परिवारकासाथ काठमाडौंमा बस्थे। उनका दुई छोरी र एक छोरा छन्। प्रगतिशील गायक टुहुरे बिते पनि उनको स्वर पुस्तौंसम्म नेपाली सामाजिक-राजनीतिक वृत्तमा गुञ्जिरहने छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2021 समाजवादी पोस्ट All right reserved Site By : Himal Creation